२०८० आश्विन ५ शुक्रबार

ठाकुररामका विद्यार्थीहरूको आन्दोलनमा काङ्ग्रेस र जनमत पार्टीले जनायो ऐक्यबद्धता

वीरगञ्ज – नेपाली काङ्ग्रेस र जनमत पार्टी पर्साले ठाकुररामका विद्यार्थीहरूले गरिरहेको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । गृह जिल्लामै परीक्षाको केन्द्र तोक्नु पर्ने मागसहित विगत एक सातादेखि आन्दोलनरत विद्यार्थीहरूसँग दुवै पार्टीले ऐक्यबद्धता जनाएका हुन् ।

काङ्ग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले बिहीबार एउटा प्रेस विज्ञप्ति जारी गर्दै ठाकुरराम बहुमुखी क्याम्पसको वीवीएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी विजय शर्माको सिमराबाट परीक्षा दिएर फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा निधन भएको प्रति श्रद्धाञ्जली अर्पण गर्दै विद्यार्थीहरूले उठाइरहेको परीक्षा केन्द्र सम्बन्धी मागलाई सम्बोधन गर्न आग्रह गरेका छन् ।

क्षेत्रीले जिल्लाका सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिहरूसँग परीक्षा नियन्त्रकको उपस्थितिमा भएको बैठकले समेत ठाकुरराम क्याम्पसको परीक्षा केन्द्र जिल्लामै राख्नुपर्ने सर्वदलीय सहमति विपरीत केन्द्र सारिएकोमा आपत्ति समेत जनाएका छन् । ‘ठाकुरराम क्याम्पसका विद्यार्थीहरूको परीक्षा केन्द्र ठाकुरराममा नै राख्न पर्सा जिल्लाका सम्पूर्ण राजनीतिक दलका प्रमुखहरूसँग परीक्षा नियन्त्रणको उपस्थितिमा बैठक बसी निर्णय भएको हुँदा सर्वदलीय सहमतिलाई कार्यान्वयन गर्दै ठाकुरराम क्याम्पसका विद्यार्थीहरूको माग अनुसार ठाकुरराम क्याम्पसमा नै परीक्षा केन्द्र निर्धारण गर्नुपर्ने माग प्रति नेपाली काङ्ग्रेस पर्साको पनि समर्थन रहेको ब्यहोरा सम्बन्धित सबै सरोकारवालाहरूमा यस विज्ञप्ति मार्फत अनुरोध गर्दछु,’ मधेश प्रदेशको प्रदेशसभा सदस्यसमेत रहेका क्षेत्रीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै जनमत पार्टीले पनि ठाकुररामका विद्यार्थीहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै परीक्षा केन्द्रका लागि वीरगञ्जमा प्रशस्त र पर्याप्त पूर्वाधार भएकोले व्यवस्थित तरिकाले वीरगञ्जमै परीक्षा केन्द्र हुनुपर्ने माग गरेको छ । 

जनमतका जिल्ला संयोजक ओमप्रकाश सर्राफ र जिल्ला इन्चार्ज माधव सिंहद्वारा जारी गरिएको संयुक्त विज्ञप्तिमा क्याम्पस जस्तो शान्ति र संवेदनशील क्षेत्रमा आन्दोलन, तालाबन्दीलगायत अस्थिर गतिविधिले पठनपाठनदेखि प्रशासनिक सबै गतिविधि नकारात्मक असर पर्ने भएको हुनाले आगामी दिनमा यस्तो तालाबन्दी र आगजनीको घटना नहोस् र निर्बाध रूपमा सहज वातावरणमा पठनपाठन होस् भन्ने उल्लेख गरिएको छ ।

जनमत पार्टीले पनि सिमराबाट परीक्षा दिएर फर्किने क्रममा दुर्घटनामा परी ज्यान गुमाएका विजय शर्मा प्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

२०८० असार २८, बिहीबार १७:०४ गते 1 Minute 65 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार