
वीरगञ्ज – वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ कोनियामा किसानहरूलाई सिँचाइका लागि पानी तान्ने विद्युतीय मोटर र विषादी छर्कने स्प्रे ट्याङ्की वितरण गरिएको छ । यस्तै त्यहाँ वृक्षारोपण पनि गरिएको छ ।
धान पकेट विकास कार्यक्रम तथा समृद्धिका लागि वन परियोजना कार्यक्रमअन्तर्गत कृषि उपकरण वितरण र वृक्षारोपण गरिएको हो ।
बिहीबार आयोजित कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले किसानहरूलाई १२ थान विद्युतीय मोटर र ३० थान स्प्रे ट्याङ्की वितरण गरेका हुन् । यस्तै उपमेयर आलमले उद्घाटन गरेको वृक्षारोपण कार्यक्रममा फलफूल प्रजातिका १ हजार बटा बिरुवाहरू पनि रोपिएको छ ।
कार्यक्रममा बोल्दै उपमेयर आलमले वन जङ्गल मासिँदै जाँदा वातावरणमा गम्भीर असर परिरहेको बताए । अहिले वर्षा नहुँदा खेतीयोग्य जग्गा बाँझो भइरहेकाले त्यसैलाई मध्यनजर गरी सिँचाइका लागि विद्युतीय मोटर वितरण गर्नु परेको उपमेयर आलमले बताए ।
उनले भने, ‘जलवायु परिवर्तन हामीले रोक्न त सक्दैनौ तर हामीले वृक्षारोपण गरेर, वन जङ्गल जोगाएर हरियाली बनाउन सक्छौँ ।’ एक घर एक रुखको नीतिलाई महानगरले कडाइका साथ लागू गर्ने उनले प्रतिबद्धता पनि जनाए ।
वीरगञ्ज महानगरपालिकाको सहयोग तथा शान्ति सद्भाव कृषक समूह र मेलमिलाप कृषक समूहे आयोजना गरेको कार्यक्रममा वडाध्यक्ष , स्थानीयवासी लगायतको पनि सहभागिता थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।