२०८० आश्विन ५ शुक्रबार

अस्पतालका कर्मचारीद्वारा महिला स्वास्थ्यकर्मीसँग दुव्र्यवहार छानबीन समिति गठन

वीरगञ्ज – नारायणी अस्पतालमा कार्यरत प्रशासनिकतर्फका कर्मचारीद्वारा प्राविधिकतर्फका महिला स्वास्थ्यकर्मीहरूसँग दुव्र्यवहार गरिएको घटना बाहिरिएको छ ।

नारायणी अस्पतालका लेखा शाखा, प्रशासन र सामाजिक एकाइमा कार्यरत कर्मचारीहरूले प्रसूति (गाइनो) वार्डका महिला स्वास्थ्यकर्मीहरूसँग दुव्र्यवहार गरेको घटना चार दिनपछि बाहिरिएको छ । घटना विवरण अनुसार साउन १७ गते राति ११ बजे लेखापाल अकलेश सहनी, सहलेखापाल डम्बरनारायण साह, फर्मासिस्ट रजत साह, सामाजिक एकाइका सहजकर्ता रामप्रवेश यादव, सुजित दास, इलेक्ट्रिसियन सञ्जीव गुप्ता र कार्यालय सहायकद्वय सुवास गुप्ता र सुवास साह मदिरासेवन गरेर गाइनो वार्डमा प्रवेश गर्छन् । त्यहाँ उनीहरूले लेबर रूममा कार्यरत महिला स्वास्थ्यकर्मीहरूसँग दुव्र्यवहारको प्रयास गर्छन् भने केहीले महिला स्वास्थ्यकर्मीहरूको झोलाबाट फास्टफूड निकालेर खान्छन् ।

लेबर रूममा सम्बन्धित पुरुष चिकित्सकबाहेक अन्य पुरुषलाई प्रवेश निषेध छ । त्यहाँ महिला स्वास्थ्यकर्मी र सहायक पनि महिलाहरू मात्र राखिएका छन् । अस्पतालको अति संवेदनशील वार्डमा अस्पतालकै कर्मचारीहरू दादागिरी शैलीमा प्रवेश गर्ने, महिला स्वास्थ्यकर्मीहरूसँग दुव्र्यवहारको प्रयास गर्ने जस्ता कार्यहरू भएपछि घटनाविरुद्धमा प्रसूति प्रमुख हेमा थापाले अस्पताल प्रशासनमा भोलिपल्टै लिखित र किटानी उजूरी दिएकी थिइन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चितरञ्जन साहले उजूरीको आधारमा तत्कालीन सिसिटिभी फुटेज हेरेर साउन १९ गते शुक्रवार तीन दिने स्पष्टीकरण सोधेका र डा सुरेन्द्र चौधरीको संयोजकत्वमा रीति साह र सुनील रौनियार रहेको तीन सदस्यीय छानबीन समिति गठन गरेको बताए । उनले स्पष्टीकरण सोधिएको र छानबीन समितिको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अघि बढ्ने बताए । घटनाका आरोपीमध्येका लेखापाल अकलेश सहनीले बियर सेवन गरेको र एकजना साथीकी पत्नी प्रसूति वार्डमा भर्ना भएकाले आफू सो स्थानमा गएको बताएका छन् ।

उनले आफू र साथीहरू बियर सेवन गरेर जानु नै गलत भएको स्वीकार गरे । उनले आफूहरूबाट घटना नियोजितरूपमा नगरिएको तर अब भने षड्यन्त्र भइरहेको आरोप लगाए । तर प्रसूति वार्डका महिला स्वास्थ्यकर्मीहरूले यसभन्दा पहिले पनि यस प्रकारका घटनाहरू हुँदै आएका आरोप लगाउँछन् । उनीहरूले लेखापाल सहनी आएदेखि कसै न कसैको क्वार्टरमा भोजभतेर गर्ने र वार्डमा आएर महिला स्वास्थ्यकर्मीहरूसँग दुव्र्यवहार गर्ने गरेका आरोप लगाएका छन् ।

२०८० श्रावण २४, बुधबार ०४:१० गते 1 Minute 166 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार