
वीरगञ्ज – जीतपुरसिमरा – १ स्थित हुलास स्टिलमा कार्यरत एक सवारी चालकको बुधवार मृत्यु भएको छ । उद्योगमा काम गर्ने क्रममा क्रेनको हुक चुँडिएर लाग्दा वीरगञ्ज महानगरपालिका – १४ पिप्रा निवासी वीरेन्द्र राउत कुर्मीको मृत्यु भएको हो ।
करिब ४५ वर्षीय कुर्मीको वीरगञ्जस्थित स्पर्श अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । उद्योगमा काम गर्ने क्रममा बिहान करिब साढे ६ बजे आफैले चलाएको क्रेनको हुक चुँडिएर लाग्दा उनी घाइते भएका थिए ।
घटना लगत्तै सिमरास्थित अल्पाइन अस्पतालमा उपचार गराई वीरगञ्जमा रहेको स्पर्श मल्टीस्पेशालिटी अस्पताल लगिएको थियो । अस्पतालमा उपचारका क्रममा करिब १२ बजे कुर्मीको मृत्यु भएको परिवारले जनाएको छ ।
कुर्मीको मृत्यु भएपछि परिवार र आफन्तले अस्पतालमाथि आक्रोश पोखेका छन् । स्पर्श अस्पतालका चिकित्सकको लापरबाहीका कारण कुर्मीको ज्यान गएको परिवारको भनाई छ । अस्पतालले कुर्मीको उपचारमा हेलचेक्र्याइँ गर्दा उनको ज्यान गएको भन्दै परिवारका सदस्यले अस्पताललाई घेराउसमेत गरेका थिए । यता चिकित्सकले भने छातीमा गम्भीर चोट भएका कारण ज्यान गएको बताएका छन् ।
कुर्मीको मृत्यु भएपछि मृतकका परिवार, उद्योग प्रशासन र अस्पताल प्रशासनबिच छलफल भएको छ । छलफलमा मृतक परिवारले उपचारमा लापरबाही गर्ने चिकित्सकमाथि कारबाही माग राखेका छन् ।
कुर्मी करिब ३० वर्षदेखि उद्योगमा कार्यरत रहेको परिवारले जानकारी दिएका छन् । उनले उद्योग भित्र ठूलो सवारीसाधन चलाउने गरेका थिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।