२०८० मंसिर १६ शनिबार

कर्मचारी हटाउदा वीरगञ्ज महानगरमा सरसफाई प्रभावित, वडा अध्यक्षले गरे मेयरलाई गुनासो

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाका वडाअध्यक्षहरुले कर्मचारी अभावमा वडाहरुमा सरसफाई अभियान प्रभावित भएको गुनासो गरेका छन् ।एक महिनापहिले महानगरपालिकाले ३२ वटै वडा कार्यालयकासाथै महानगरपालिकाको विभिन्न महाशाखा र शाखामा दैनिक ज्यालादारी र डोर हाजिरीमा कार्यरत सरसफाईकर्मी , ट्रयाक्टर चालक, कम्प्युटर अपरेटर,नगर प्रहरी लगायत ४ सय ५० भन्दा बढी कर्मचारीलाई सेवाबाट हटाएको थियो ।

दैनिक ज्यालादारी र र डोर हाजिरीमा कार्यरत कर्मचारीहरु हटाइदिदाँ अहिले वडामा सरसफाई कार्य नै प्रभावित भएको र वडावासीबाट दिनहँु दुव्र्यवहार खेप्नु परिरहेको वडाअध्यक्षहरुको गुनासो छ । उनिहरुले कर्मचारीको अभावमा सेवा दिन नसक्दा वडावासीबाट व्यक्त भइरहेको आक्रोश थेग्न नसकिएकाले अब आफुहरुले नै वडा कार्यालयमा ताल्चा लगाएर महानगरपालिकाको कार्यालयमा धर्नामा बस्न बाध्य हुने चेतावनीपनि दिएका छन् ।

शुक्रबार बिहान गुनासो लिएर मेयर राजेशमान सिंहको कार्यकक्षमा पुगेका वडाअध्यक्षहरुले हटाइएका सरसफाईकर्मी सहितका आवश्यक कर्मचारीको तत्काल व्यवस्थापन गर्न माग गरे ।

२०७९ जेठ मा बसेको महानगरपालिकाको चौथो बोर्ड बैठक र परिषदले नै हरेक वडामा थप पाँच जना सफाईकर्मी , एक जना ट्रयाक्टर चालक , एक जना कम्प्युटर अपरेटर दैनिक ज्यालादारी र डोर हाजिरीमा नियुक्त गर्ने निर्णय गरेको थियो । त्यहि निर्णय अनुसार हरेक वडामा दैनिक ज्यालादारी र र डोर हाजिरीमा आवश्यक कर्मचारी नियुक्त गरेको र त्यसले सरसफाई सहित वडा कार्यालयको सेवा सहज भएको अनूभती नगरवासीले गरिरहेकोमा अहिले अचानक ती कर्मचारी हटाउँदा वडा कार्यालयकोसेवा प्रवाह नै अस्तव्यस्त बनेको वडाअध्यक्षहरुको भनाई छ ।

वडा नम्बर २५ का वडाअध्यक्ष आशुतोष चर्तुवेदीले भने,‘ कर्मचारी नहुदाँ वडामा सरसफाईको काम ठप्प जस्तै छ । ट्रयाक्टर छ तर ड्राइभर छैन । हप्तौदिन सम्म फोहोर उठ्दैन । जनता घरमा आएर अनेकथरी कुरा सुनाएर जान्छन् । जनताको आक्रोश थेग्न सक्ने अवस्थामा अब छैनौ । कि त महानगरले कर्मचारी देओस् कि हामी वडाको तालाचाबी महानगरमा ल्याएर बुझाइदिन्छौ ।

वडा नम्बर ५ का वडाअध्यक्ष प्रदीप चौरसियाले अधिकांश वडामा कम्प्युटर अपरेटरपनि हटाइएका कारण जन्मदर्ता , मृत्यु दर्ता , चौहदी सिफारिस लगायतका सेवाका लागि महानगरपालिका कार्यालयमा सिफारिस गरेर पठाउनु परेकोले सेवाग्राहीलाई सास्ती भइरहेको र उनिहरुले त्यसको आक्रोश आफुहरुमाथि पोख्ने गरेको गुनासो गरे ।

उनले भने,‘ कम्प्युटर अपरेटर नहुँदा रसिद काट्न सकिएको छैन, सिफारिसपत्र तथा चिठ्ठीपत्र बनाउन कठिनाइ भएको छ, जन्मदर्ता, मृत्यु दर्ता लगायतको सिफारिस दिन पनि गाह्रो भएको छ ।जनताको गाली मात्रै सुन्नु परेको छ । यसरी गाली सुनेर कहिले सम्म हामीले काम गर्ने ?’

बोर्ड बैठक र परिषदको निर्णय अनुसार नै दैनिक ज्यालादारी र डोरहाजिरीमा कर्मचारी नियुक्त गरिएको भएपनि प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले सनकमा आएर ४ सय ५० भन्दा बढी कर्मचारी हटाइदिएको उनले बताए ।

वडा नम्बर १२ का वडाअध्यक्ष सुरेश गुप्ताले भने,‘महानगरमा नयाँ नेतृत्व आएपछि सहरको सरसफाई र सौन्दर्यकरणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्यो , बाहिरबाट आउने मानिसहरु पनि सहरको सरसफाईमा आएको आमूल परिवर्तन दखेर आश्चर्य मान्थे । मुक्तकण्ठले प्रशंसा गर्थे । तर अचानक वडाहरुमा नियुक्त दैनिक ज्यालादारीका कर्मचारी हटाइदिदाँ वीरगन्ज सहरको सरसफाईको पहिलेको जस्तै दूरावस्था हुने हो कि भन्ने चिन्ता छ ।

वडा नम्बर १५ का वडाअध्यक्ष रमेश यादवलेपनि वडा कार्यालयमा एक महिना यता कर्मचारी अभावले वडाको सरसफाई, कार्यालयको सेवा प्रवाह लगायतमा कठीनाई भइरहेको गुनासो सुनाए । उनले भने,‘ योक एक वर्षमा नगरवासीले साच्चै परिवर्तनको अनुभूती गर्न थालेका थिए । कामले रफतार लिदैं थियो । तर अचानक प्रमुख प्रशासकीय अधिकृतले वडाका कर्मचारीहरु हटाइदिदाँ हामीले जनताबाट ताली होइन गालीमात्र खाइरहेका छौं ।

बोर्ड बैठक र परिषदको निर्णय अनुसार नै दैनिक ज्यालादारीमा कर्मचारी राखिएको भएपनि प्रमुख प्रशासकीय अधिकृत पौडेलले जनप्रतिनिधीलाई बदनाम गर्न र समस्यामा पार्ने नियतले ती कर्मचारी हटाएको आरोप यादवको छ ।

वडाअध्यक्षहरुको गुनासो सुनेपछि मेयर सिंहले कर्मचारीको अभावमा महानगरपालिका कार्यालयकोपनि सेवा प्रवाहमा समस्या भएको स्वीकारे । उनले कर्मचारीको व्यवस्थापनका लागि आफुले प्रयास गरिरहेको भन्दै अहिले उपलब्ध जनशक्तिकै भरपुर उपयोग गरेर काम गर्न वडाअध्यक्षहरुलाई आग्रहपनि गरे ।

शुक्रबार बिहान मेयर सिंहसामु गुनासो लिएर पुगेको टोलीमा वडा नम्बर ४ का वडाध्यक्ष जगत साह कानु, वडा नम्बर ५ का वडाअध्यक्ष प्रदप चौरसिया, वडा नम्बर ६ का वडाअध्यक्ष जयप्रकाश अग्रवाल , वडा नम्बर १२ वडाअध्यक्ष सुरेश गुप्ता ,वडा नम्बर १५ का वडाअध्यक्ष रमेश यादव, वडा नम्बर १७ का वडाअध्यक्ष सन्जु छत्कुली , वडा नम्बर २५ का वडाअध्यक्ष आशुतोष चर्तुवेदी , वडा नम्बर २६ का वडाअध्यक्ष शम्भु मिश्रा लगायतको सहभागीता थियो ।

गत भदौं २४ गते प्रमुख प्रशासकीय अधिकृत पौडेलले एक सूचना जारी गरेर भदौं २६ गतेदेखि लागु हुने गरी दैनिक ज्यालादारी र र डोर हाजिरीमा कार्यरत कर्मचारीहरु नियमविपरित भर्ना गरिएको भन्दै उनिहरुलाई जागीरबाट हटाएको जानकारी गराएका थिए । उक्त सूचना अनुसार, महानगरपालिकाको वडा कार्यालयमा कार्यरत सफाईकर्मी, ट्रयाक्टर चालक , कम्प्युटर अपरेटर , स्वास्थ्य चौकी , नगर प्रहरी गरी ४ सय ५० भन्दा बढी कर्मचारी जागीरबाट बर्खास्त भएका थिए ।

२०८० आश्विन २६, शुक्रबार २०:४१ गते 1 Minute 106 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार