
वीरगञ्ज – सशस्त्र प्रहरीले वीरगंज भन्सार नाकाबाट सानो तिनो घरायसी सामानलाई रोकेर तस्करीको लाइन खोलेको पाइएको छ । रक्सौल बजारबाट घरायसी सामान किनेर ल्याउने सर्वसाधारणहरुले वीरगंज भन्सार नाकामा सशस्त्र प्रहरीको तनाव खेप्नु परेको छ भने तस्करहरुले सशस्त्र प्रहरीको आशिर्वादमा वीरगंजको इनर्वा, अलौं, सिर्सिया, भेलाही, प्रसौनीभाठ्ठा, अमरपट्टि, सिक्टा भिस्वा नाकाबाट तस्करीको लाइन खुलाएको बताइएको हो ।

देखाउनको लागि दिनको समयमा वीरगञ्ज भन्सार मुख्य गेटमा सिसिटिभी जडान गरि सशस्त्र प्रहरीले अर्को नाकाबाट कपडा, काजु, हार्डवेयर लगायतका सामानको तस्करीको लाइन खोलेको बताइएको छ । अहिले वीरगंजको इनर्वा बाँसघारी, बलिरामपुर, अलौं, सिर्सिया, भेलाही, प्रसौनीभाठ्ठा, अमरपट्टि, सिक्टा भिस्वा लगायतको नाकाबाट व्यापक कपडा, काजु, हार्डवेयर, इलेक्ट्रोनिक सामान तथा भैसीको तस्करी भइरहेको छ । विगतमा वीरगंजको इनर्वा नाकाबाट तस्करी गर्ने कुख्यात कपडाको तस्कर अहिले वीरगंज लगायत ग्रामीण नाकाबाट तस्करी कार्यलाई तिब्रता दिएका हुन् ।
वीरगञ्ज स्थित सशस्त्र प्रहरीको १३ नं. गणका सशस्त्र प्रहरी उपरीक्षक किसन कर्मचार्य, डिएसपी संगम श्रेष्ठ तथा भन्सारका डिएसपी देबेन्द्र सिंहको आशिर्वादले रातिको समयमा अहिरवा टोला, बलिरामपुर, इनर्वा, नगवा हुँदै वीरगंजको मुख्य बजारसम्म तस्करीको सामान पुग्ने गरेको छ भने दिनमा व्यापक कडाई नौटंकी गरिँदैछ । देखाउनको लागि भन्सार कार्यालयमा दिनमा कडाई गरेर रातिको १० बजेपछि तस्करीको लाइन खोलिएको हो । पोकामा सामान ल्याउने महिलाहरुको सामान खोसेर सशस्त्र प्रहरीले ठूलै तस्करी नियन्त्रण गरि रहेको देखाउन खोजेतापनि रातिको समयमा सशस्त्र प्रहरीकै मिलोमतोमा व्यापक तस्करी भइरहेको छ ।

वीरगञ्ज भन्सारमा सशस्त्र प्रहरीले लछार पछार जस्ता कार्य गर्नुले घरायसी सामान किनेर ल्याउने सर्वसाधारणहरुले पनि सास्ती खेप्नु परेको छ । इनर्वा गाउँका महिलाहरुले पनि सानोतिनो सामान ल्याउँदा सशस्त्र प्रहरीहरुले लछार पछार गरि सामान खोस्ने गरेका छन् । सानोतिनो सामान ल्याई आफ्नो दैनिकी जीवन चलाइँरहेका गरिब, असहाय, एकल महिलाहरु प्रभावित बनेका छन् ।
अहिले दिनहुँ वीरगञ्ज भन्सार कार्यालय अगाडि महिलाहरुको समूह जम्मा हुने, सशस्त्र प्रहरीसँग विवाद गर्ने जस्ता कार्यहरु गरि रहेको देख्न सकिन्छ । सशस्त्र प्रहरीको यो रवैयाबाट नेपाल भारत सीमा क्षेत्रका नेपाली महिलाहरु काम गर्न नपाएर दैनिकी जीवन चलाउन समेत समस्या भएको दुःखेसो पोखी रहेका छन् । दुईचार वटा लुगा ल्याएर दुई तीनसय रुपैया कमाएर बालबच्चा पाल्ने एकल महिलाहरु दिनहुँ भन्सार कार्यालय अगाडि रोएर बस्नुपर्ने अवस्था सृजना भएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।