२०८० मंसिर १६ शनिबार

मोटरसाइकल चोरी गर्ने गाेसाई पक्राउ

वीरगञ्ज – दसैँको समयमा हुने चोरी नियन्त्रण गर्न प्रहरी सक्रिय देखिएको छ । दसैँमा लागेको मेला र बजार घुम्न आउनेहरूको सवारीसाधन लगायतका सामग्री चोरी नियन्त्रण गर्न पर्सा प्रहरीले विशेष अप्रेसन नै चलाएको हो ।

सोही क्रममा पर्सा प्रहरीले एक जना मोटरसाइकल चोरलाई नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक (इन्स्पेक्टर) पुष्कर बोगटीको नेतृत्वको टोलीले बिहीबार वीरगञ्जको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेको आरोपमा एक जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा रौतहटको कटहरिया नगरपालिका – ८ घर भई हाल वीरगञ्ज महानगरपालिका  – १६  बस्ने अजय गोसाईं रहेका छन् । गोसाईंले एक दिनमा चार वटा मोटरसाइकल चोरी गरेको इन्स्पेक्टर बोगटीले जानकारी दिए ।

वीरगञ्जमा लागेको रात्रि बजार घुम्न आएकाहरूको मोटरसाइकल गोसाईंको समूहले चोरी गरेको बोगटीले बताए । उनका अनुसार समूहले मोटरसाइकल चोरी गरेर नारायणी अस्पतालको पार्किङमा लुकाएर राखेको थियो । ‘गोसाईंको समूहले एउटा मोटरसाइकल चोरी गर्ने, त्यसलाई लगेर नारायणी अस्पतालको पार्किङमा लुकाउने अनि फेरी आएर अर्को चोरी गर्ने गरेको थियो,’ बोगटीले भने ।

प्रहरीले चोरी भएको प्रदेश – ०२ – ०२३ – ०२२ प ९२७२, ना. २६ प ५८५३, ना ६४ ३८०६ र ना. ५४ प ४७२४ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

गोसाईंलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको र उनको समूहका अन्य सदस्यहरूको खोजी कार्य भइरहेको इन्स्पेक्टर बोगटीले बताए ।

बोगटीले दसैँ, तिहार र छठ लगायतका पर्वमा चोरी लगायतका आपराधिक घटना बढ्न सक्ने बताउँदै आम सर्वसाधारणलाई सतर्क रहन सुझाव दिएका छन् । उनले शङ्कास्पद व्यक्ति वा गतिविधि देख्न साथ प्रहरीलाई जानकारी गराउन समेत आग्रह गरेका छन् ।

२०८० कार्तिक ३, शुक्रबार १२:३९ गते 1 Minute 113 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार