२०८० मंसिर १६ शनिबार

तस्करी नियन्त्रणको नौटंकी गर्ने सशस्त्र प्रहरीकै संरक्षणमा संस्थागत तस्करी

वीरगञ्ज – नेपाल भारत सीमा क्षेत्रमा तस्करी नियन्त्रण गर्ने जिम्मेवारी पाएको सशस्त्र प्रहरीकै संरक्षणमा पर्साको ग्रामीण क्षेत्रका विभिन्न नाकाहरूबाट तस्करी बढेको छ । सशस्त्र प्रहरीले जिल्लाको सदरमुकाममा कडाई गरेजस्तो देखिएपनि ग्रामीण क्षेत्रमा तस्करीमा कुनै कमी कमजोरी नराखेको पाइएको हो । सानोतिनो सामानहरु पक्राउ गरेर केही काम देखाउन खोजेपनि संस्थागत तस्करी भने रोकिएको छैन । जिल्लामा खुला सीमाना भएकाले तस्करहरुलाई अबैध रुपमा सामान नेपाल भित्र्याउन सहज भएको छ । सशस्त्र प्रहरीले दैनिक सानोतिनो सामान बरामद गरेको देखाएर ठूलो परिमाणको तस्करीको सामानहरु सेटिङ्गमा छाड्ने गरेको हो ।

वीरगञ्ज मुल भन्सार नाकाबाट अबैध सामान आउन कडाई गरेको देखाएपनि तस्करीको सामान भने निर्वाध रुपमा वीरगंज बजारसम्म भित्रि रहेको छ । सशस्त्र प्रहरीका हाकिमसँग सेटिङ्ग मिलाएका तस्करहरुले भन्सार कार्यालय अगाडि सशस्त्र प्रहरीको चेकिङ्ग गर्ने स्थानमा आफै उभेर सशस्त्र प्रहरीका जवानहरुले सामान रोकेपछि ‘दाई ठीक छ, भईसक्या छ’ भनेर छाड्न लगाउने गरेको स्थलगत रिपोर्टिङ्गको क्रममा पाइएको हो । त्यसको साथसाथै रातिको समयमा वीरगंज भन्सारको अन्य नाकाहरुबाट कपडा, काजु, हार्डवेयरका सामानहरु साइकलमा निर्वाध रुपमा तस्करी हुने गरेको छ ।

यसैगरि तस्करहरुले वीरगंज भन्सारको साथसाथै पर्साको ग्रामीण नाका नाकालाई तस्करीको ट्रान्जिट प्वाइन्ट बनाएका छन् । ग्रामीण नाकाहरू जानकीटोला भिस्वा, मिर्जापुर, दसावता, पाण्डेपुर, मालीबस्ती, बिजयबस्ती र ठोरी लगायतका नाकाहरुबाट निर्वाध रुपमा तस्करीको सामानहरु नेपाल भित्रि रहेको छ । नाका स्थित सशस्त्र प्रहरीका बिओपीका हाकिमहरुलाई सेटिङ्ग गरि भारतीय बजारबाट तस्करीका सामानहरु २०/२५ वटा मोटरसाईकल प्रयगो गरेर सामानहरु वीरगंज, महुवन, लखनपुर, लङ्गडी, जितपुर सिमरा देखि काठमाडौंसम्म पुग्ने गरेको छ ।

नेपाल भारत सीमा नाकामा दर्जनौं सशस्त्र प्रहरीको चेकिङ्ग प्वान्ट हुँदा रातभरी मोटरसाईल ओहोरदोहोर गर्दा समेत कुनै रोकटोक छैन । तर कुनै सर्वसाधारण आए तिनीहरुले सीमा पारी आउन सक्दैनन् । ‘नयाँ जोगीले बढी खरानी घसेझै’ नयाँ नयाँमा बढी हल्ला गरेको जस्तो देखिएको स्थानीयहरुको भनाई छ । केही स्थानबाट तस्करी गरेको सामान समातेजस्तो गर्ने तर निश्चित नाकाबाट तस्करी संस्थागत तस्करी भने दिनहुँ भइरहेको उनीहरुको भनाई छ ।

तस्करहरुले पर्साको ग्रामीण नाकाको जगरनाथपुर गाउँपालिका वडा नं. २ को दशौता नाका बढी उपयोग गरेका छन् । गाउँका मानिसहरु सबै राती सुतिसकेपछि दशौता नाका प्रयोग गरेर दशौतालमै भन्ने स्थानमा झारेर सामान तस्करी भएको स्थानीयको भनाई छ । उता भिस्वा जानकीटोलको दसौवता र पाण्डेपुर नाकाबाट दिनहँु जसो साँझ ६ बजेदेखिनै भारतीय बजारबाट कपडा, काजु, हार्डवेयर, बोइलर कुखुरा, सेतो अण्डा, किराना समाग्री, राङ्गा भैसी लगायतको सामानहरु तस्करी हुने गरेको छ ।

दशौता नाकाबाट तस्करी गरि ल्याइएको पशु चौपायाहरुलाई जगरनाथपुर स्थित हाटबजारमा खरिद विक्री हुने गरेको छ । भारतबाट ल्याइएको भैसी, पाडाहरुलाई हप्ताको दुई दिन आइतवार र बिहिवार लाग्ने जगरनाथपुर पशुहाट बजारमा विक्री वितरण गरि बिल बिजक बनाई हेटौडादेखि काठमाडौंसम्म पुर्‍याउने गरिएको छ । अवैध रुपमा भारतबाट ल्याइएको पशु चौपायाहरुलाई बैधानिक बनाउनका लागि स्थानीय निकायका जनप्रतिनिधिहरुले सिफारिस गर्ने गरेको पनि पाइएको छ । ‘दुधको साक्षी विरालो’ भएझै अवैध रुपमा भित्र्याइएका चौपायाहरुलाई वैधानिक बनाउन वडाध्यक्षहरुले सिफारिस गर्ने गरेको बताइएको छ ।सभार :बीरगंज टाइम्स

२०८० कार्तिक १०, शुक्रबार २३:३१ गते 1 Minute 141 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार