२०८० मंसिर १६ शनिबार

वडाध्यक्षको आँखा फोड्ने प्रहरीलाई कारबाहीको माग गर्दै वीरगञ्जमा कांग्रेसद्वारा प्रदर्शन

वीरगञ्ज – नेपाली काङ्ग्रेस पर्साले वडाध्यक्षलाई कुटपिट गर्ने प्रहरीलाई कारबाहीको माग गर्दै वीरगञ्जमा प्रदर्शन गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष हिराकाजी महर्जनलाई कुटपिट गरी आँखा फुटाई दिएका इलाका प्रहरी कार्यालय नगवाका प्रहरी नायब निरीक्षक (सई) रवीन्द्र साह तुराहालाई कारबाहीको माग गर्दै काङ्ग्रेस पर्साले शुक्रवार वीरगञ्जमा प्रदर्शन गरेको हो ।

घण्टाघर चोकबाट नाराबाजी गर्दै जुलुस निकालेका काङ्ग्रेसका नेता कार्यकर्ताले जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापन पत्र समेत बुझाएका थिए ।

काङ्ग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापन पत्र बुझाउँदै सई तुराहालाई ७ दिनभित्र कारबाही नगरिए काङ्ग्रेस चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनीसमेत दिए । महर्जन काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।

कुर्मीका अनुसार कार्तिक ५ गते महाष्टमीका राति रेल्वे रोडस्थित हनुमान मन्दिरमा भइरहेको धार्मिक भजनकिर्तन कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको र वडाध्यक्ष महर्जनले धार्मिक कार्यमा बाधा नगर्न आग्रह गर्दा सई तुराहाले वडाध्यक्ष महर्जनलाई कुटिपट गर्नुका साथै रातभर प्रहरी थुनामा राखेका थिए । प्रहरीले उनलाई कार्तिक ६ गते बिहान मात्र छाडेको थियो । कुटपिटबाट घाइते महर्जनको आँखामा समेत गम्भीर चोट लागेकाले अहिले पनि उनको उपचार भई नै रहेको कुर्मीले बताए ।

धार्मिक कार्यक्रममा हस्तक्षेप गर्ने सई तुराहालाई त्यसो नगर्न आग्रह गर्दा उनले पुरानो रिसीइबी साँध्न वडाध्यक्ष महर्जनलाई अपनाम गर्नुका साथै कुटपिट गरेर घाइते बनाएको र रातभर प्रहरी थुनामा समेत राखेकाले सई तुराहालाई ७ दिनभित्र कारबाही नगरिए जिल्लाभरका काङ्ग्रेस नेता कार्यकर्ता आन्दोलनमा उत्रिने चेतावनी कार्यवाहक सभापति कुर्मीले दिए ।

विरोध प्रदर्शन र जुलुसमा प्रदेशसभा सदस्य श्याम पटेल, काङ्ग्रेस पर्साका उपसभापति अशोक गुप्त, जिल्ला सचिवद्वय दिनेश चौधरी र इम्तियाज आलम, जिल्ला प्रवक्ता रमेश पाण्डे, क्षेत्रीय सभापति मोहम्मद शाहाबुदीन र अनिल सिंह, पूर्व जिल्ला उपसभापति दिना गुप्ता र राजु गुप्ता, नेपाल तरुण दल पर्साका अध्यक्ष विकास तिवारी, नेवि सङ्घ पर्साका सभापति रमेश यादव, पटेर्वा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतो थारु लगायतको सहभागिता थियो ।

२०८० कार्तिक १०, शुक्रबार १५:४७ गते 1 Minute 646 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार