
वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले यस वर्ष सफलतापूर्वक सम्पन्न भएको ‘वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिता’लाई आगामी वर्षदेखि निरन्तरता दिन महानगर तयार रहने बताएका छन् ।
कात्तिक १८ गतेदेखि सुरु भई शनिवार सकिएको प्रथम वीरगञ्ज गोल्डकप फुटबलको शनिवार आयोजित समापन समारोहलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मेयर सिंहले यस्तो बताएका हुन् ।
उनले भने, ‘प्रथम वीरगञ्ज गोल्डकप फुटबलको आयोजनाले वीरगञ्जमा धेरै वर्षपछि फेरि फुटबलप्रतिको उत्साह र उमङ्ग फर्किएको छ । यस प्रतियोगितालाई आगामी वर्षदेखि निरन्तरता दिन आयोजकलाई जेजस्तो सहयोग चाहिन्छ त्यो सहयोग गर्न महानगर तयार रहन्छ ।’
उनले वीरगञ्ज गोल्डकप फुटबललाई निरन्तरता दिन आयोजक क्लबलाई आग्रह पनि गरे । मेयर सिंहले पहिलो पटक आयोजित प्रथम वीरगञ्ज गोल्डकप फुटबलमा नेपालमा नाम चलेका क्लबका साथै छिमेकी मुलुक भारतका टिम पनि सहभागी भएकाले यो प्रतियोगिता वीरगञ्जका लागि गौरवकै विषय बनेको बताए ।
आयोजक भेट्रान सिटी क्लबका अध्यक्ष सबिन बस्नेतको अध्यक्षतामा भएको समापन समारोहमा वीरगञ्ज महानगरका उपमेयर इम्तियाज आलम, सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादव, पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेपाली सेनाका कर्णेल डायमन्ड कार्की, पर्साका प्रहरी उपरीक्षक कोमल शाह, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव दीपेन्द्र चौहान, केन्द्रीय सदस्य केसी लामिछाने, मधेस प्रदेश महासचिव श्याम बञ्जारा, जनता समाजवादी पार्टीं नेपाल (जसपा) वीरगञ्ज महानगर अध्यक्ष ईश्वरचन्द्र यादव, वीरगञ्ज महानगरका वडाध्यक्षहरू बैजुलाल स्वर्णकार, प्रदीप चौरसिया, हिराकाजी महर्जन, रितेश गुप्ता, आशुतोष चतुर्वेदी, पर्सा फुटबल सङ्घका अध्यक्ष अनिल कलवार, उपाध्यक्ष हेमन्त चौरसिया, आयोजक क्लबका उपाध्यक्ष सागर राणा, महासचिव पङ्कज श्रेष्ठ लगायतकोपनि सहभागिता थियो ।
मधेस प्रदेशकै उच्च धनराशि भएको प्रथम वीरगञ्ज गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिवार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा २–० ले हराएर पुलिसले उपाधि जितेको हो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।