२०८० फाल्गुन १० बिहीबार

मालपोत कार्यालय पर्साका नासु गुप्तालाई ५ वर्ष कैद, ९५ लाख जरिवाना

वीरगञ्ज – विशेष अदालतले सात वटा भ्रष्टाचार मुद्दा खेपेका मालपोत कार्यालय पर्साका नासु मदन प्रसाद गुप्तालाई ५ वर्ष कैद सजाय सुनाएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले कैद सजाय तोकेको हो । अर्का आरोपित नगेन्द्र प्रसाद चौधरीलाई ४ वर्ष कैद सजाय सुनाइएको छ ।

मालपोत कार्यालयको राजस्व रकम हिनामिना गरेको आरोपमा दुवै जनाबाट ४७ लाख ५४ हजार रुपैयाँ भराउने र त्यसको दोब्बर अर्थात ९५ लाख ८ हजार रुपैयाँ जरिवाना तिराउने आदेश पनि गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए । दोषी ठहर भएका आरोपितमध्ये एक नासु मदन प्रसाद गुप्तामाथि सातवटा भ्रष्टाचार मुद्दा लागेको थियो । नौ वर्षअघि राजस्व हिनामिनाको घटनामा अख्तियारले उनीमाथि ९५ लाख ८ हजार रुपैयाँ विगो मागदावी गरेको थियो ।

अख्तियारको आरोपपत्र अनुसार, जग्गा कारोवारका क्रममा प्राप्त हुने राजस्वको रकम र विस्तृत विवरण लेखा शाखामा नबुझाई उनले हिनामिना गरेका थिए । त्यही आरोपमा अख्तियारले उनीमाथि आर्थिक वर्ष २०७२/७३ मा राजस्व हिनामिना गरेको आरोपमा ९५ लाख ८ हजार विगो र त्यसको दोब्बर रकम जरिवाना मागदावी गरेको हो ।

अख्तियारले पछिल्लोपटक नासु गुप्ता विरुद्ध ७ असोजमा मुद्दा दायर गरेको थियो । मालपोत कार्यालय, पर्सामा हुँदा करिव साढे १२ लाख रुपैयाँ हिनामिना गरेको आरोप उनीमाथि थियो । अख्तियारका अनुसार, १६ माघ २०६९ देखि आठ दिनको अवधिमा संकलन भएको १४ लाख रुपैयाँ राजस्वमध्ये उनले एक लाख ६२ हजार रुपैंया मात्रै लेखा शाखामा बुझाइ अरु रकम हिनामिना गरेका थिए ।

त्यतिबेला उनीमाथि ‘उठाएको राजस्व प्रचलित कानुन बमोजिम दाखिला नगरी हिनामिना गरेको’ आरोप थियो । उनी सहित अर्का कर्मचारीमाथि दुई किसिमको अभिलेख खडा गरी सरकारी कागजात गैरकानूनी तरिकाले सच्याउने, केरमेट गर्ने, थपघट गर्ने वा हेरफेर गरेर भ्रष्टाचार गरेको आरोप थियो ।

२०८० माघ ९, मंगलवार २१:३६ गते 1 Minute 91 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार