२०८० फाल्गुन १० बिहीबार

झोले संस्थाको माफियाको रुपमा परिचित गुप्ता विभिन्न स्थानिय तहमा आतंक मचाउदै

वीरगञ्ज – पर्साको स्थानीय तहहरुमा झोले संस्थाका एक जना संचालकले लुट मचाएका छन् । पर्साको बिन्दबासिनी गाउँपालिका – ४ झौवा निवासी ओम प्रकाश गुप्ताले दर्जनाै झाेले गैर सरकारी संस्थाहरु दर्ता गरि अनियमितता गरिरहेकाे समाचार प्राप्त भएकाे छ ।

उनले विभिन्न स्थानिय तहका जनप्रतिनिधि र कर्मचारीहरु कमिसनको प्रभावमा पारि लक्षित बर्ग कार्यक्रमहरु संचालनमा अनियमिता गरिरहेका हुन् । समाचार स्राेतका अनुसार गुप्ताले आफ्ना घरपरिवार तथा आफन्त आसेपासेको नाममा र नक्कली कागजपत्रको अधारमा दर्जनौँ सामाजिक संघसंस्था दर्ता गराएका छन् ।

साेही संस्थाहरुबाट उनले सेटिङमा डल कुशन तालिम, मेहदी बनाउने सम्बन्धि तालिम, अगरबति, ममबति बनाउने तालिम लगायतका समाजिक विकासका कार्यक्रमहरु संचालन गर्दै आएका छन् ।

यसका साथै उनले केही सप्लायर्सहरु पनि दर्ता गराई सामाजिक विकासका कार्यक्रमहरू र जिन्सीका समान खरिद गर्न कमिसनको भरमा आफ्नै फर्मको नाममा हात पारेर कागज मै मिलान गरी बिल भर्पाई बनाइ लाखौँ करोडौँका बजेट हात पार्ने गरेका छन् ।

उनले पर्साको पोखरिया नगरपालिका र बिन्दबासिनी लगायत पर्साका अधिकान्स स्थानीय तहमा अधिकांश समाजिक विकासका कार्यक्रम हात पारेका छन् । पर्साका झाेले एनजियाेकाे माफियाकाे रुपमा परिचय बनाएका गुप्ताले पालिका तथा वडाका निर्वाचित जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा प्रमुख र लेखापाल प्रमुखका कर्मचारीहरूलाई बजेटको ४० पर्सेन्टदेखि ५० पर्सेन्ट सम्म कमिसन बुझाएर कार्यक्रमहरु हात पारिरहेका छन ।

यति मात्र हैन कार्यक्रम हात पार्न बिदेशी रक्सी दारु मासु जनप्रतिनिधि र कर्मचारीहरुको घर घरमा पुर्याएर विभिन्न किसिमका खुसामत गर्ने गरेकाे वताइन्छ । यति मात्र कहाँ उनले कार्यक्रमहरु हात पार्न जनप्रतिनिधि र कर्मचारीहरुलाई पहिला नै कमिशन बुझाउने गरेका छन् ।

उनले सामाजिक विकासका कार्यक्रमहरू मात्र हाेइन जिन्सीका समान खरिद ,ठेक्का पटा जस्ता कार्यहरू समेत गर्न थालेका छन् ।  बजेटकाे २० प्रतिशत पनि खर्च नगरी बिल भरपाई मिलाई पहुँच तथा कमिसनको भरमा पैसा निकासा गराई आतङ्क मच्चाउनुको साथै बर्सेनि लाखौँ लाख बराबरको राजश्व चोरी गरिरहेको खुलेको हो । कतिपय समाजिका विकासकाे कार्यक्रम संचालन विना नै कागज मिलाई निकासा गराउने गरेका छन् ।

समाचार स्राेतका अनुसार गुप्ताले संचालन गर्ने सबै कार्यक्रमहरु मापदण्ड विपरित संचालन हुने गरेकाे छ । उनले कार्यक्रम संचालन गर्दा मात्र नास्ता खुवाएर फाेटाे खिच्ने गरेकाे वताइन्छ ।

उनले जिल्लाका अधिकांश पालिकाहरूमा गुप्ताले कमिसन बुझाएर आफ्नो डिजाइनमा जिन्सीका समान खरिद र संघसंस्थाबाट हुने सामाजिक विकासका कार्यक्रमहरू हाल्न लगाई कसैलाई जानकारी नै नदिई जनप्रतिनिधिको आसेपासेहरूलाई बोलाएर साँघुरो कोठामा गुपचुप ढङ्गबाट कागजमै सीमित हुने गरी कार्यक्रम गरेर पालिकाको लगानी बालुवामा पानी हाले सरह गरेको स्थानीयहरूको गुनासो छ ।

झोलामा संस्थाको कागज पत्र बोकि गुप्ताले स्थानिय तहका जनप्रतिनिधि र कर्मचारीहरु सङ्गको कमिसनको खेलमा विभिन्न किसिमको कार्यक्रमहरु गरिरहेका छन । समाजिक विकासकाे उद्देश्य दर्ता भएकाे संस्थाहरुले उनले निजि आर्थिक लाभकाे रुपमा परिणत गरेका छन् ।

गुप्ताले बढी कमाइ हुने कार्यक्रमहरु हाल्न जनप्रतिनिधिहरुलाई आर्थिक हिसाबले लोभ्याएर हाल्न लगाइ सेटिङमा मोटो कमिसन बुझाएर काम गरिरहेको वताइन्छ । पालिकाका सरकारी कर्मचारीहरू नै गैरसरकारी संघ संस्थावालाहरुसंग मोटो कमिसन बुझेकै कारण सामाजिक विकास कार्यक्रमहरुमा भ्रष्टाचारको सीमा नाघेको छ ।

यस्ता झोले संस्थाका कारण अनुभवि र याेग्य गैर सरकारी संस्थाहरु ओलझेलमा परेका छन् । गुप्ता कै कारण सामाजिक विकासकाे लागि संचालन हुने कार्यक्रम बदनाम समेत हुने गरेकाे छ । सङ्घसंस्था माफिया गुप्ताले नाङ्गो भ्रष्टाचार गरेर अख्तियारलाई समेत खुल्ला चुनौती दिइरहेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्था माफिया गुप्ताले संचालन गर्ने काममा निगरानी बढाउन र राम्रो संग छानबिन गरी यस्ता भ्रष्टहरुलाई कार्वाहीको दायरामा ल्याउन आवश्यक देखिन्छ ।

२०८० माघ २७, शनिबार ०७:१९ गते 1 Minute 102 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार