नेकपाभित्र भागबण्डाको लडाई

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण प्रक्रिया चलिरहेकै अवस्थामा पूर्वएमाले र पूर्वमाओवादीको भागबण्डाको लडाई देखिएको छ ।
पूर्वमाओवादीले पोलिटब्युरो गठनमा ५० प्रतिशत भाग खोजेको छ । कार्यदल बैठकमा सम्मानजनक एकताका लागि भन्दै पूर्वमाओवादीले बराबरी हुनुपर्ने तर्क गरेको हो ।

‘पोलिटब्युरोमा ५०–५० प्रतिशत भागबन्डा हुनुपर्ने दाबी गरेका छौं,’ पूर्वमाओवादीका एक नेताले भने, ‘तर पूर्वएमालेले ६०–४० का आधारमा हुनुपर्ने अडान लिएको छ ।’ पूर्वमाओवादीको दाबी सुनेर पूर्वएमाले नेताहरू फस्किएका छन् ।

केन्द्रीय कमिटीका ४४१ सदस्यीय केन्द्रीय समितिको एकतिहाई पोलिटब्युरोमा रहने छन् । छलफल जारी रहेकाले सार्वजनिक गर्न नमिल्ने कार्यदल सदस्य बेदुराम भुसालले बताए । ‘कार्यदलभित्र बाहिर केही नबोल्ने आचारसंहिता बनाएका छौं,’ भुसालले भने, ‘सहमति भएपछि सबै थाहा पाइहाल्नुहुन्छ ।’

नेकपा कार्यदल बैठक भूमिगत रूपमा बस्दै आएको छ । अनौपचारिक रूपमा धेरै छलफल भएपनि औपचारिक रूपमा सात पटक बैठक बसेको कार्यदलका एक सदस्यले बताए । नेकपाभित्रका विवाद छताछुल्ल हुने डरले एकीकरण प्रक्रियामा रहेका नेताहरू भूमिगत भएका छन् ।

छलफलकै क्रममा विषयबाहिर आउने र सहमतिका लागि कठिन हुने भएकाले स्थान गोप्य राखिएको ती सदस्यको तर्क छ । माघ पहिलो सातासम्म प्रतिवेदन बुझाउने तयारी कार्यदलको छ । कार्यदलमा विष्णु पौडेल, रामबहादुर थापा, लेखराज भट्ट, वेदुराम भुसाल, योगेश भट्टराई, रघुवीर महासेठ, वर्षमान पुन, सुरेन्द्र पाण्डे र शंकर पोखरेल छन् । स्थायी कमिटी बैठकमा सरकारको आलोचना गर्ने व्यक्तिलाई समेटेर कार्यदल बनाइएको थियो ।

तत्कालीन एमाले र माओवादी केन्द्रको एकीकरणबाट नेकपा बनेको साढे सात महिना बित्दा पनि विधान टुंगिन सकेको छैन । राजनीतिक प्रतिवेदन, पार्टीको कार्यदिशा, विधानलगायत महत्त्वपूर्ण विषय एकीकरणकै क्रममा टुंगिसके पनि नेकपाभित्र अहिले विधान परिमार्जनको विषयले प्रवेश पाएको हो ।

संगठनात्मक एकीकरणको बाँकी काम टुंगो लगाउन स्थायी समितिको पछिल्लो बैठकबाट गठित कार्यदलमा विधान परिमार्जन र प्रदेश कमिटीको नामावली हेरफेर गर्ने किन नगर्ने विषयबाट छलफल अघि बढेको छ । ‘अहिले हामी स्थायी समितिमा उठेको विधानमा छुटेका शब्द, स्थायी समितिको अधिकार र प्रदेश एकीकरण गर्दा मापदण्डबाहिरबाट परेका व्यक्तिको हकमा के गर्ने विषयमा बढी छलफल गरिरहेका छौं,’ कार्यदलका एक सदस्यले भने ।

जनतालाई ठूल्ठूला आश्वासन दिएर चुनावको मुखैमा एक भएका एमाले र माओवादीले लामो समयसम्म पनि एकीकरण टुंग्याउन सकेका छैनन् । अहिले आएर माओवादीले आधा भाग खोजेपछि एकीकरण प्रक्रिया नै धरापमा पर्ने हो कि भन्ने चिन्ता देखिएको कम्युनिस्ट नेताहरू बताउँछन् ।

Facebook Comments
संपर्क
संचालक: बिक्रम छेत्री

संचालक: बिशाल अर्याल
सम्पर्क:
[email protected]

सूचना विभाग दर्ता नंः १०७०/०७५-७६

विज्ञापनका लागि: [email protected]

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।

%d bloggers like this: