नेपाली प्रोफईंल
२१ जेष्ठ २०७७, बुधवार

इन्जिनियरिङ छोडेर कृषिमा रमाएका राजदास

साँखुका ६८ वर्षीय राजदास श्रेष्ठ पेशाले केमिकल इन्जिनियर हुनुहुन्छ । तर अहिले उहाँको काम माटो, घाँसपात अनि बिरुवासँग जोडिएको छ ।

२०३३ सालमा तत्कालीन सोभियत संघबाट केमिकल इन्जिनियरिङ पास भएपछि उहाँ २५ वर्ष इन्जिनियरिङमै रमाउनुभयो । पढाई अनुसारको पेशालाई साढे दुई दशकपछि छोडेर उहाँ केही वर्षयता कृषिमा सक्रिय हुनुहुन्छ ।

घरको छेउछाउमा हरियो तरकारी रोप्नुभएको छ । कुखुरा र बाख्रा पाल्नुभएको छ । कुखुरा र बाख्राको मल तरकारीमा हाल्नुहुन्छ । तीन जनालाई नियमित रोजगारीसमेत दिनुभएको छ । सबै खर्च कटाएर महिनामा १५ हजार रुपैयाँजति बचत गर्नुहुन्छ ।

कृषिअघिको इन्जिनियरिङ पढाइ र काम

राजदासको बाल्यकाल साँखुमै बित्यो । उच्च शिक्षाका लागि विदेशीएपछि भने उहाँ देशमा धेरै बस्न पाउनु भएन । १० वर्षको उमेरदेखि घरमै संस्कृत विषय पढ्नुभयो । तर नेवार समुदायकै भएकाले संस्कृत पढेर दीर्घकालीन नहुने थाहा पाएपछि त्यसलाई बीचमै छोडिदिनुभयो । ‘संस्कृतको प्रथमा तह सकेपछि वेद पढ्न खोज्दा नेवारको बच्चाले कर्मकाण्ड गर्न हुन्न भनेपछि संस्कृत छाडेँ’, उहाँले हाँस्दै भन्नुभयो, ‘संस्कृत पढ्न नपाएको झोंकमा अंग्रेजी विषय पढ्न थालेँ । अंग्रेजी अप्ठ्यारो भए पनि घोकेरै उत्कृष्ट अंक ल्याएँ ।’

उत्कृष्ट अंक ल्याएबापत महेन्द्ररत्न पुरस्कार जित्नुभयो । त्यसपछि अमृत साइन्स क्याम्पसमा तीन वर्ष पढेपछि इन्जिनियरिङ विषय अध्ययनको लागि तत्कालीन सोभियत संघ जानुभयो ।

सोभियत संघमा ६ वर्षमा केमिकल इन्जिनियरिङको कोर्ष सकियो । उहाँको इन्जिनियरिङ सिमेन्ट प्रविधिमा थियो । उहाँकै सक्रियतामा उदयपुर र धादिङमा सिमेन्ट उद्योग स्थापना भयो । उहाँले खानी विभागमा अनुसन्धान अधिकृतको रुपमा झण्डै एक वर्ष काम पनि गर्नुभयो । तर खानी विभागको कामले चार जनाको परिवार नपालिने भयो ।

त्यसपछि उहाँले त्रिभुवन विश्वविद्यालयमा व्यवहारिक विज्ञान तथा अनुसन्धान केन्द्रमा काम सुरु गर्नुभयो । त्यहाँ काम गर्दागर्दै सिमेन्टको विकल्पको रुपमा भुसको खरानी उत्पादन गर्नुभयो । त्यही बेलामा राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन यूनेस्कोका प्रतिनिधिले अफ्रिकी देश बोस्वानामा स्वेयमसेवकको रुपमा काम गर्न प्रस्ताव गरे । राजदासले स्वीकार गर्नुभयो । अनि २०४० सालमा राष्ट्रसंघको स्वसेवक भएर दुई वर्ष बोस्वानामा सिमेन्ट उत्खननको काम गर्नुभयो ।

दुई वर्ष काम गरेपछि उहाँलाई इन्जिनियर प्रमुख नियुक्त गरियो । स्वयंसेवकको रुपमा काम गर्दा मासिक पाँच सय डलर पाउने उहाँले इन्जिनियर प्रमुख भएपछि महिनाको पाँच हजार डलर कमाउन थाल्नुभयो । त्यहीबीचमा मोटरसाइकल दुर्घटनामा परेर उहाँले श्रीमती गुमाउनुभयो । दुर्घटनामै परेर घाइते भएका राजदास तीन महिना अस्पताल बसेपछि आफ्ना दुई छोरा लिएर नेपाल फर्कनुभयो । तर राष्ट्रसंघको कार्यकाल नसकिएकाले झण्डै एक वर्ष नेपाल बसेर उहाँ फेरि बोस्वाना जानुभयो । झण्डै चार वर्ष त्यहाँ काम गरेर एक करोड रुपैयाँ जति कमाउनुभयो ।

पहिलो श्रीमतीको दुर्घटनामा परेर ज्यान गएको पाँच वर्षपछि दोस्रो विवाह भयो । अनि कोटेश्वरमा ९० हजार रुपैयाँ रोपनीमा जग्गा किनेर घर बनाउनुभयो । घरमै कारखाना खोल्नुभयो ।

धादिङको जोगिमारामा उत्खनन गरेको चुन थानकोटमा पेलेर कोटेश्वरमा आफ्नो कारखानामा रंगरोगन गर्नुभयो । हातमा नलाग्ने प्रविधिबाट रंगिन चुन बनाउनुभयो । चुनबाट सिमेन्ट पनि निकाल्नुभयो । एकपछि अर्को गर्दै २ सय ४० भन्दा धेरै समूहसँग काम गर्नुभयो । व्यवसाय राम्रो चल्दै थियो । तर धेरैले उधारो सामान लिन थालेपछि राजदासको व्यवसाय घाटामा जान थाल्यो । प्राविधिक रुपमा सफल भए पनि आर्थिक रुपमा यही व्यवसायले आफूलाई डुबाएको उहाँ सम्झनुहुन्छ । घाटामा गएपछि आफूसँग भएको धनसम्पत्ति, घरखेत, श्रीमतीका गहना सबै बेच्नुभयो । तर पनि पुरै ऋण तिर्न सक्नुभएन । कारखाना पनि बेचिदिनुभयो । त्यसपछि सुरु भयो राजदासको कृषि यात्रा ।

च्याउबाट सुरु भयो

सुरुमा उहाँले २०५७ सालमा च्याउ खेती सुरु गर्नुभयो । च्याउ खेती गर्दैगर्दा २०५८ सालमा अमेरिकामा हुने विश्व च्याउ सम्मेलनमा सहभागी हुन निमन्त्रणा पाउनुभयो ।

अमेरिका गएपछि डलर कमाएर आफ्नो सकिएको सम्पत्ति फेरि कमाउने र अरु बाँकी ऋण तिर्ने उहाँको सपना बन्यो । ठूलो सपनासहित २०५८ सालमा अमेरिका पुग्नुभयो । त्यहाँ पाँच वर्ष दुःख गरेर केही पैसा कमाउनुभयो ।

२०६२ सालमा आफ्नै जन्मभूमी साँखु फर्किनुभयो । तीन रोपनी जग्गा किन्नुभयो । अनि इन्जिनियरिङ पेसालाई चटक्कै माया मारेर कृषि क्षेत्रमा हात हाल्नुभयो । श्रीमतीसँग मिलेर धान, आलु, गहुँलागयतका बाली रोप्नुभयो । गाई पाल्नुभयो तर पनि नोक्सानी नै व्यहोर्नुभयो । चार वर्षअघि दोस्रो श्रीमती पनि बितेपछि भने उहाँले गाई पाल्न छाड्नुभयो । तर बाँच्ने आधार तय गर्नैपर्‍र्यो । कुखुरा, बोका बाख्रा पाल्नेसँगै फूललगायत तरकारी खेती गर्नुभयो ।

अहिले त्यहाँ तीन जनालाई नियमित रोजगारी दिनुभएको छ । रुसमा रहेका दुई छोराले उहाँलाई उतै बोलाउँछन् । तर राजदास आफ्नो देश, आफू जन्मिएको ठाउँको माटोको सुगन्धले विदेश पलायन हुन नदिएको बताउनुहुन्छ ।

‘आफ्नै देशको माटोको बास्नाले मलाई तानेको छ । धेरै वर्ष विदेशमा बसें । पैसा पनि टन्नै कमाए, मासिक झण्डै १० हजार डलर कमाउँथे तर त्यसले बास्तविक सन्तुष्टि कहिल्यै दिएन’, उहाँले भन्नुभयो, ‘पैसा सुखको साधन हो । पैसा आफै सुख होइन । अहिले आफैले महसुस गरेको छु ।’

राजदास जीवनको अन्तिम लक्ष्य सुनाउदै भन्नुहुन्छ, ‘यही माटोको बास्नासँगै अबको बाँकी जीवन साँखुमै बिताउने योजनामा छु ।’

प्रतिकृया दिनुहोस्