प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार देशैभर सरकारविरूद्ध प्रदर्शन गर्दै छ।
उपत्यका बाहिरका जिल्लामा बिहान ११ बजेदेखि सडकमा प्रर्दशन हुनेछ भने काठमाडौंमा दिउँसो १ बजे प्रर्दशनको तयारी छ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले गरेका जनहित विपरितका निर्णयहरू नसच्याएसम्म विरोध जारी रहने बताए।
वाइडबडी जहाजमा भएको भनिएको भ्रष्टाचार, निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्नलाई कारबाही नहुनु, स्वदेशी लगानीमा बनाउने भनेको बूढीगण्डकी जलविद्युत बिना प्रतिस्पर्धा चाइना गेजुवा कम्पनीलाई दिनेलगायत मुद्दा कांग्रेसले विरोध सभामा उठाउने तयारी गरेको छ।
आफ्ना नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा क्रमश तनहुँ र बाँकेमा खुलेका अस्पताल सरकारले विघटन गर्न लागेकोमा विरोध गर्दै संसद अवरूद्ध गरेको कांग्रेसले सरकारले अस्पताललाई संघबाट हटाउने निर्णय सच्याएकोमा स्वागतसमेत गरेको छ।
‘केहीलाई लाग्ला प्रतिपक्षले किन विरोध गरिरहेको छ? कांग्रेसले उठाएको माग त सरकारले पूरा गरिदिइसक्यो। तर त्यस्तो होइन। हामीले नेताको नाम राखेर अस्पताल बनाऊँ भनेको र सरकारले माग पूरा गरेको होइन। सरकारले त आफ्ना गल्ती सच्याएको हो,’ प्रवक्ता शर्माले भने।
सरकारले महंगी नियन्त्रण गर्न नसकेको पनि उनले बताए।
‘छ महिना हुँदा पनि निर्मलाको हत्यारा पत्ता लगाएर सरकारले कारबाही गर्न सकेन,’ शर्माले भने, ‘३३ किलो सुन प्रकरणमा पनि ठूला माछा पक्राउ गर्न सकेको छैन।’
दुई तिहाइको दम्भले सरकार अधिनायकवादतर्फ उन्मुख रहेकोले विरोध गर्न देशैभर प्रर्दशन गर्न लागिएको कांग्रेसको भनाइ छ। कांग्रेसका नेताहरू आफूलाई अनुकूल पर्ने ठाउँमा आयोजित कोणसभामा सहभागी हुँदैछन्। केन्द्रीय कार्यसमितिले केन्द्रीय सदस्यलाई तोकेरै जिल्ला खटाएको भने छैन।
संसदबाट माघ ११ मा पारित चिकित्सा शिक्षा विधेयकलाई संशोधन गर्न पनि कांग्रेसले माग गरेको छ। अधिकतम् मार्सल प्रयोग गरेर तथा डाक्टर गोविन्द केसीले उठाएका मागलाई बेवास्ता गरी विधेयक पारित गरेकोमा कांग्रेसले सरकार र सभामुखको समेत आलोचना गर्दै आएको छ।
कांग्रेसले आयोजना गरेको सरकारविरूद्ध प्रर्दशनमा तरूण दल, नेविसंघ, महिला संघलगायत भातृ संगठन पनि सहभागी हुनेछन्। काठमाडौंका विभिन्न स्थानबाट सरकार विरूद्ध प्रर्दशनमा उत्रने जनाएको कांग्रेसले कोणसभा भने शान्तिवाटिकामा गर्नेछ।