नेपाली प्रोफईंल
१७ जेष्ठ २०७७, शनिवार

अस्ताए ‘छेक्यो–छेक्यो देउराली डाँडा’का सुक

६ पुस, पोखरा । पचासको दशकलाई पोखरेली सांगीतिक ब्याण्डको उर्बर समय मानिन्छ । त्यो बेला एकपछि अर्को ब्याण्ड जन्मिएर लोक पपको क्षेत्रमा धमाका मच्याइरहेका थिए । त्यसैमध्येका एउटा ब्याण्ड थियो, नेपथ्य ।

त्यो दशकको सुरुवाततिरै नेपथ्यको ‘छेक्यो, छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले’ लोक पप शैलीको गीतले धुम मच्चायो । तन्नेरी युवादेखि पाका संगीत पारखीलाई यो गीतले छोयो र मुखमुखमा झुण्डियो ।

‘छेक्यो, छेक्यो देउराली डाँडा…’ गीतमार्फत नेपथ्य र यसका गायक रवीन श्रेष्ठ एकसाथ चर्चित बने । तर, गीतकार भने गुमनाम नै रहे । त्यो गीतका सर्जक थिए, सुक गुरुङ ।
त्यतिमात्रै होइन, सुकले धेरैका मुखमा गुञ्जिरहने केही सदाबहार गीत दिए । गायक र ब्याण्डले चर्चा कमाए । विभिन्न कन्सर्ट र सांगीतिक कार्यक्रम जमाए । गीत र गायकले चर्चा र सफलता बटुलेजस्तो सुकले जीवनको सफलताको स्वाद लिन पाएनन् ।

अरुण थापाले गाएको उनकै गीत ‘दोष कसैलाई दिन चाहन्न, पिउनेछु बरु आँखाको आँसू’ ले भनेजस्तै कहिले आँसुमा डुबे त कहिले आफैंलाई दोष दिँदै जीवनसँगै पछुताए ।
शर्मिला बर्देवा र रवीन श्रेष्ठले गाएको अर्को उनको गीत हो, ‘आँखैमा झल्झली हितैको दौतरी ।’ जीवनका पछिल्ला दशक उनले हितैको दौंतरी सम्झिरहे तर देख्न पाएनन् । मधुमेह र उच्च रक्तचापका कारण उनले दृष्टि गुमाए । आँखामा अँध्यारो छाए पनि उनले जीवनमा उज्यालो खोज्दै बाँच्ने प्रयत्न गरे ।

राजु लामाले गाएको ‘भाइटीकामा भेट्न आउँला बिदाइ छ आजलाई,’ गीत पनि उनै सर्जक सुकले नै लेखेका हुन् । यो गीत धेरैको मुखमै बस्यो । सुनेर धेरैका आँखा रसाए । गायक राजुलाई चर्चित बनाउन सुकको यो गीतले पनि भूमिका खेल्यो ।

नेपाली आधुनिक तथा लोक पप जगतलाई उनले दिएका केही गीत सदावहार रुपमा चलि नै रहेका छन् । तर उनी भने जीवनमा सफलता खोज्दा खोज्दै कहिले दृष्टि गुमाएर संसार नदेख्ने बने त कहिले रोगले थला परे ।

२०७१ पुस १९ गते उनी अकस्मात ढले । त्यसअघि नै उनका आँखाको ज्योति बिस्तारै कम हुँदै गइरहेको थियो । १० दिनपछि चेत आउँदा उनी अस्पतालको बेडमा थिए ।

मधुमेह, उच्च रक्तचापले उनलाई गाँजेको रहेछ । ‘बैंश र जवानीमा आफैंलाई ख्याल गरिएन । रोगले च्याप्दै गएछ । आँखाको ज्योति गुम्यो,’ विदेशबाट आएको उपचार सहयोग लिँदै २ वर्षअघि सुकले भनेका थिए, ‘डाक्टरले दुईवटै मिर्गौला फेर्नुपर्छ भनेको छ । अहिले हप्तामा दुई पटक डायलासिस गरिरहेको छु ।’

लमजुङमा जन्मेका सुकको परिवार चितवन झर्‍यो । चितवनबाट सुक पोखरा आइपुगे । सुकको बाल्यकाल चितवन हुँदै पोखरामा बित्यो । उनको गीत हिट भएपछि सुक पनि काठमाडौंतिर हानिएका थिए । काठमाडौंमा भिडियो सम्पादनको काम गरे । तर, उनले पैसा एल्बम निकाल्दैमा सकेको बताउँथे ।

‘जीवनको कमाइ बचाउन सकिन । अहिले शुभेच्छुकको सहयोगले बाँच्ने प्रयास गरिरहेको छु,’ सुक भन्थे, ‘यो क्षेत्र नै यस्तै रहेछ । लागेपछि छोड्नै नसकिने ।’

यही बीचमा गीत, मुक्तक, कवितासहितको ‘यी मेरा अन्तरवेदनाहरु’ नामक किताब बजारमा ल्याए । सुकले इसारा भाग १, तिर्सना, निवेदन, सूचना, विरानो मायाजस्ता ११ एल्बम बजारमा ल्याएका थिए । केही गीत चर्चित बने तर जीवनलाई सहज ढंगले चलाउन सकेनन् ।

नजिकबाट चिन्ने र संगत गरेकाले सुकलाई घमण्डी भन्थे । त्यो कुरा उनी आफू पनि स्वीकार्दै भन्थे, ‘हो मलाई घमण्डी, मिलेर काम गर्न नसक्ने पनि भन्छन् । आफ्नो स्वाभिमानलाई बेचेर, आफू होच्चिएर अरुलाई अग्लो बनाउन नसकिँदो रहेछ ।’

नेपथ्यबाट गीत चर्चित बनेपछि आफूलाई पर्गेल्ने काम भएको उनी गुनासो गर्थे । ‘पहिलेजस्तो अवस्था छैन । धेरै कुरा बिर्सन्छु । तर सक्दासम्म मैले गीत लेख्न छाडिनँ । गाउँछु भन्नेहरु आइरहेकै थिए । जीवनमा केही गीत लेखेर धेरैको माया पाएको छु, यसैमा खुसी छु,’ उनी भन्थे ।

चर्चित गीतका सर्जक भएकै कारण सुकले धेरैको सहयोग र साथ पाए । विभिन्न रोगका कारण कमजोर बन्दै गएका सुक दुबै मिर्गौलामा समस्था देखिएपछि थलिएका थिए ।
उनको मिर्गौला प्रत्यारोपणका निम्ति भनेर देश विदेशमा कार्यक्रम भए । हङकङ, युके, ब्रुनाई, अमेरिका, अस्ट्रेलिया लगायतका देशबाट सुकका निम्ति भनेर पैसा संकलन हुन थाल्यो । सुकलाई स्वतस्फूर्त सहयोग हस्तान्तरण हुन थाले । पोखरामा जगन गुरुङको संयोजकत्वमा आर्थिक संकलन अभियान नै चल्यो ।

देशविदेश र विभिन्न कार्यक्रमबाट सुक गुरुङका निम्ति झण्डै ५४ लाख रुपैयाँ जम्मा भयो । यो रकमबाट सुकको मिर्गौला प्रत्यारोपणसँगै उपचारका निम्ति खर्च गर्ने अभियान्ताहरुको योजना थियो ।

नियमित डायलासिस गराइरहेका र अन्य रोगका कारण पनि धेरै नै गलिसकेका सुकले प्रत्यारोपण गर्न मानेनन् । जीवनमा परिवारका निम्ति ठूलो काम केही गर्न नसकेको र अब आफू मिर्गौला प्रत्यारोपणबाट पनि धेरै बाँच्न नसक्ने भइसकेको बताउँदै सुकले त्यो रकमले आफ्नो परिवारको ओत लाग्ने ठाउँ बनाइदिन आग्रह गरे ।

‘म यसरी गलिसकेको छु । अब मिर्गौला फेरेर पनि म धेरै बाँच्न सक्दिन । मैले जीवनमा धेरै पैसा कमाउन र परिवारका निम्ति केही गर्न सकिनँ, त्यसैले घर बनाउनका निम्ति सुकले आग्रह गरेपछि संकलित रकम उनको नियमित उपचारसँगै घर निर्माणमा खर्च भयो,’ सुकका साथी तथा आर्थिक संकलन अभियानका सदस्यसमेत रहेका मेनकाजी गुरुङले भने, ‘उनको लेखनाथ डाँडाको नाकमा सानो जग्गा रहेछ । त्यहीँ अहिले उनको घर बनेको छ ।’

चर्चा र सफलताको असली स्वाद लिन पाएनन् । गुमनामजस्तो जीवन बाँचे तर पनि मनकारीहरुको साथ पाए । उनी रोगसँग लड्दै गर्दा भन्थेँ ‘म ९९ प्रतिशत मरेर पनि १ प्रतिशतले बाँचिरहेको छु । २/४ गीत लेखेको थिएँ र पो बाँच्न पाइरहेको छु ।’

हो, अब सुक बाँचिनै रहने छन्, उनका गीत र सिर्जनाहरुमा । सुकलाई अब फेरि चिनिन र बाँच्नकै निम्ति संघर्ष गर्नुपर्ने छैन । किनकी पोखराको चरक मेमोरियलमा उपचारको क्रममा आइतबार बिहान ५४ वर्षको उमेरमा सुकको निधन भएको छ । सुकको उपचारका निम्ति उठेको रकमले ठडिएको घर उनका २ छोरा र श्रीमतीका निम्ति ओत लाग्ने ठाउँ त बनेको छ तर सुक नै नभएपछि यतिबेला उराठ छ ।

प्रतिकृया दिनुहोस्