नेपाली प्रोफईंल
२१ जेष्ठ २०७७, बुधवार

‘सत्य पनि स्वयं एक्लो छ’ (जीवन दर्शन)

फूलको देहमा सुवास कस्ले भरिदियो?
हिमालमा आभा कस्ले छर्कि्दियो?
आखाको नानीमा माया कस्ले रोपिदियो?
जूनमा शितलता कस्ले छरिदियो?
देह यो जस्लाइ तिमी घृणा गर्छौ
देह यो जस्लाइ तिमी मरणशील छ भन्छौ
देह यो जस्लाइ तिमी नश्वर छ भन्छौ
देह यो जस्लाइ तिमी बल्नेत हो नि भन्छौ
तर नभुल तिमी यो देह भित्रैत छौ नि !
नभुल यो देह छ र त तिमी छौ
तिम्रो कर्म छ, धर्म छ, धर्ती छ
देह छ र त देवता छन- अनि
तिम्ले हेर्ने आँखा देहकै एक स्थुल अंश हो
तिम्ले फेर्ने श्वास देहकै एक अनुच्छेद हो
तिम्ले बोल्ने शब्द देहकै उत्पादन हो
तिम्ले गर्ने माया देहकै दौलत होनि
फेरि किन भन्छौ नाशवान छ यो देह ?
र घृणा गर्छौ यो देहलाई ।
यो देह भित्रै छ देवता पनि !!
देह एक्लै छ देवता एक्लै छन्
अरु त के कुरा एकान्त पनि एक्लो छ !

तिमी एक्लो हुनुलाई निराशताको संकेत भन्छ्यौ तर म भन्छु, एक्लो हुनु स्वयं जलेर अरुलाई उज्यालो देखाउने दियो हुनु हो
दियोसँग अरु को जल्यो र खोइ आजसम्म ? । फूलसँग कहिले ! झ-यो र काडा खोइ ? एक्लै झर्छ फूल गलेपछि भुइँमा तर फूल कहिल्यै भौंतारिएन । एक्लो फूल । एक्लो जुन । एक्लो चाँदनी । एक्लो आकास । एक्लो क्षितिज । एक्लो सूर्य । एक्लै छ हिमाल । नदीहरु एक्लाएक्लै छन् । एक्लै बगिरहेको देख्छु अनन्तदेखि ।

समय पनि त एक्लै छ नि । पर–पर बाटोमुनि उभिएर एउटा पिपलको बोट वर्षौंदेखि मलाई गाउँ जाँदा स्वागत गरिरहेको छ । त्यसको एकान्त देख्दा मलाई खुसी लाग्छ किनकि म जस्तै त्यो पिपल पनि एक्लैमा रमाइरहेछ । रमाइलोका लागि यदि भिड नै चाहिने भए नदी उहीले नै सुकिसक्थ्यो होला । बारीमा उभिएका बोटहरु सबै ढलिसक्थे होलान् । बाटोहरु हराइसक्थे होलान् । म अगाडिको एउटा लाटो पहाड सधैं एक्लै देख्छु । त्यसले गाएको गीत एकान्तमा सुनेको छु मैले । म त्यो पहाड हेरेर निदाउँछु । उसको एकान्त मलाई मन पर्छ । चकमन्न जंगलको बीचबाट उठेको एकान्त सुसेली कहिलेकाहीँ बाटो हिँड्दा सुन्न पाइन्छ । मौनता पनि स्वयंमै आवाज हो ।

मियो एक्लै उभिएको छ खेतमा दश गोरुको बीचमा तर ! हेर त ती गोरुहरु त्यही मियो वरिपरि घुमेका छन् र धानका गेडाहरु झारिरहेछन् । सूर्य पनि त एक्लै छ । तर हेर लाखौं ग्रह त्यसकै वरिपरि घुमिरहेछन् । विशाल बन्ने वृक्षको बीउ एक्लो उम्रनु पर्छ पृथ्वीमा । लहलहाउने फूलका कलेवर स्वयं एक्लै छन् । पातहरु पनि एक्लै छन् । खोइ कोसँग माग्यो तिनले हरियो सापटी ?

सापट त भिडले माग्छ । उधारो त भिडले खान्छ किनकि भिड महाभारतको युद्ध हो । खोइ कसले जित्यो त्यो युद्ध ? कृष्णले पनि हारे कौरवले पनि हारे, पाण्डवहरुले पनि हारे, सबैले हारे । केवल समयले जित्यो । भनिन्छ त्यो युद्धमा सत्यले जित्यो तर खोइ कहाँ छ र सत्य ? कसले देख्यो सत्य । सत्य पनि एक्लो छ ।

एक्लोहरुलाई देखिँदैन तर दिग्विजय एक्लोले गर्छ । सत्य सापेक्ष हुन्छ र आफूले खोजेको सत्य जहाँ पनि पाइन्छ । सत्यको स्वतन्त्र सत्ता हुँदैन। मानिसले सत्य आफैं निर्माण गर्छ । सत्य त सत्य हो तर जब सत्यलाई सबैले आ–आफ्ना निहीत स्वार्थसँग जोडे अनि सत्य पनि रुन्छ मानिसको आँशुसँग पग्लिदिन्छ ।

सत्य पनि स्वयं एक्लो छ । हिजोदेखि आजसम्म सत्यले भिड रोजेन । भिडमा असत्–असत्य हुन्छ। हिजो भिडले नै हो भक्तपुरका कर्णप्रसाद हेजुलाई छाताले घोची–घोची मारेको ।

मानिस भिडमा पशु बन्छ । भिडमा एउटा नाङ्गियो भने सबैलाई नाङिगन कुनै डर हुँदैन । तिमी एक्लो हुनुलाई बथानबाट छोडिएको चरी भन्छ्यौ तर म त्यसैलाई बुल बुल भन्छु । भिड दुखेको देखेको छु मैले तर एकान्त कहिले दुखेको देखिनँ । एक्लो उभिएको पहाडलाई हेर्छु कति शान्त बाँचिरहेछ त्यो । भिड नाच्छ पहाडको छातीमा तर पहाडले कहिले दुख्यो भनेन ।

म एक्लै छु । मलाई छोएर भाग्ने त्यो हावा एक्लै छ । भिरमा फुलेको गुराँस एक्लै छ । यतिबेला रातको एघार बज्यो । बाहिर रात पनि एक्लै छ । मेरो हातमा थुनिएको कलम एक्लै छ । श्वास–प्रश्वास एक्लै गरिरहेछभित्र बाहिर । म जीवित छु । ज्युँदो हुनेहरू एक्लैले संघर्ष गर्छन् । भिड त लासलाई मात्रै चाहिन्छ । हिजो धरहरा एक्लै बाँचेको थियो र एक्लै ढल्यो । ऊ ढल्दा ऊँसग ढले कैयौं एक्लाहरु । म पनि हिजो ढलेको धरहरा जस्तै हुँ एक्लो सत्य ।

इतिहासमा सत्यहरु पुरिए पनि कालान्तरमा ती पिपलु जस्तै फेरि–फेरि उम्रन्छन् । तिमी एक्लो हुनुलाई नदीले छोडेर गएको बगर भन्छ्यौ तर म एक्लो हुनुलाई कालीगण्डकीले कुदेको शालिग्राम भन्छु । म छु, एक्लो छु । मसित सिर्फ मै छु अनि मैले गाउने गीत छ र त्यसलाई मैले कहिले एक्लो हुन दिएको छैन । गीतहरू जुन दिन एक्ला हुन्छन् ती नारायणगोपालका ओठहरुबाट जुनकिरी भएर गुन्जिनेछन् मुटुका लयहरुबाट ।

लक्ष्मण सिटौला

तिमी एक्लो हुनुलाई अभिशाप भन्छ्यौ तर म भन्छु एक्लो हुनु सिर्जनात्मक हुनु हो । तिमी एक्लो हुनुलाई एकलास भन्छ्यौ तर म भन्छु एक्लो हुनु ईश्वर नजिक पुग्नु हो । तिमी एक्लो हुनुलाई पूर्वजन्मको पाप भन्छ्यौ तर म भन्छु एक्लो हुनु तपस्वी हुनु हो ।

एक्लो हुनु नदी जस्तै सफा हुनु हो । एक्लो हुनु हिमालझैं स्निग्ध हुनु हो । एक्लो हुनु आफैंमा पारलौकिक परमानुभूति प्राप्त गर्नु हो । एक्लो हुनु सुनकोशी हुनु हो । एक्लो हुनु आकास हुनु हो । एक्लो हुनु फूल हुनु हो । एक्लो हुनु एक उज्यालो हिमाल हुनु हो । एक्लो हुनु ऋषि हुनु हो । एक्लो हुनु इन्द्रेणी हुनु हो । एक्लो हुनु आकाशमार्गको पन्छी हुनु हो ।

एक्लै हुनु आफू हुनु हो । एक्लो हुनु त मनको आनन्दमा मिसिनु हो । आनन्द एक्लो हुनुमा फक्रिन्छ । एक्लो हुनु त किरण हुनु हो । जुन एक्लै त थियो नि । घाम पनि त एक्लै थियो नि । ती एक्लोमा विविध छन् । ती एक्लोमा विश्वास नजिकै छन् । ती एक्लोमा स्वाभिमानी छन् । एक्लै त डुब्छ घाम क्षितिजमा तर उसले सबको खुसी फर्काउने वाचा लिएर डुब्छ । र आजसम्म ऊ त्यही सत्मार्गमा विना शर्त हिँडिरहेछ । हिँडिरहनु उसको कर्तव्य, खोइ मैले कहिले देखिनँ घामले आजसम्म बाटो बिराएको । थाहा भएन उसले कसैमाथि विभेद गरेको । थाहा छैन उसले मेरो तेरो भनेको । थाहा छैन उसले कसैलाई चिसो र कसैलाई तातो दिएको किनकि ऊ एक्लो छ। एक्लो हुनु निर्मल हुनु हो । एक्लो हुनु विवेकी बन्नु हो । हरेक शब्द अक्षर एक्ला छन् । हरेक आवाज एक्लै ध्वनित हुन्छन् । जंगली रुख पनि त एक्लै छ। खोइ कहिले बिस्र्याे र उसले एकान्तमा हावासँग मिलेर गीत गाउनलाई । जंगलका चराहरु पनि एक्लै छन खोइ कहिले बिर्सेर तिनले वसन्तमा गीत गाउन ।

तिमी एक्लो हुनुलाई कोही नभएको सहाराहीन भन्छ्यौ तर म भन्छु एक्लो हुनु जीवनको लय सग, जीवनको सुरसँग, जीवनको सङ्गीतसँग मिल्नु हो। जीवन त एक्लोमा कति मीठो छ । कसैले छोइदिएर बिटुल्याइदिएको फूल त भुइँमा खस्न सक्छ नि कुनै दिन । एकै सुर एकै स्वर एकै ताल आहा ! यसको मेलोडी । आहा ! यसको कम्पन । आहा यसको मुर्छना । वैशाखमा कतै पर गाइरहेकी कोइली पनि एक्लै त छे नि तर पर–परसम्म ऊ आप्mनो मृदुलित झन्कार फैलाइरहिछे ।

संसार हेर्ने हाम्रा दुई आँखा पनि एक्ला एक्लै त छन् । के ती दुईको कहिले भेट भएको देखेकी छ्यौ र ? एक्लै त छ आँखा तर एक्लोमा उसले सदा नयाँ–नयाँ संसार देखायो । दुई किन हुनुपर्ने ? म जन्मिएको एक्लै हो । तिमी जन्मिएको एक्लै हो अनि आमा, जसले हामीलाई जन्माइन् तिनी पनि त एक्ली थिइन्। एक्लै थिइन् तिनी जतिबेला तिनलाई सुत्केरी बेथा लागेको थियो । तिमी गर्भभित्र एक्लै थियौ नि। न तिम्रो दाइ थिए साथमा न तिम्रो बहिनी थिइन् साथमा । गर्भको खोलभित्र त तिमी एक्लै थियौ । श्वास लिँदा पनि एक्लै र श्वास छोडेर जाँदा पनि एक्लो त हो नि मनुष्य । यो चेतनाको चैतन्य चोलामा खोइ कसले पायो र साथ कालान्तरसम्म ।

भिड त मलाई यति घातक लाग्छ कि भिडमा मान्छे पशु जस्तै अवचेतनमा हुन्छ । भिडभित्र लाज छोपिँदैन । यो संसारको आविष्कार र प्रगति कुनै भिडले बनाएको होइन । यो प्रगति एकान्तले बनाएको हो । यो वैभवता एकान्तले जन्माएको हो । एक्लोले बनाएको हो यो दुनियाँ । किनभने एक्लोमा चिन्तनले चिर नविनता पाएको हुन्छ । आइस्टाइन एक्लैत थिए नि । भारतकी रत्न लतामङिस्कर एक्ली त छिन् । तिब्बत स्वतन्त्रताका गीतकार दलाई लामा एक्लो त छन् । बुद्ध एक्लैले त ल्याए शान्तिको धारा यो विश्वविभुमा र आज पर्यन्त त्यही शान्तिगीत गुन्जिरहेछ पृथ्वीको आधा पाटोमा ।

ग्राहमवेलले टेलीफोनको ध्वनि सिर्जना गरे एक्लै थिए त्यतिबेला । पछि यो खुसी उनले आफ्ना पिताजीलाई सुनाए । संसारलाई हँसाउने चार्ली च्यापलिनसँग अर्को को गासिएको थियो र ! एक्लैले हँसाए यो दुनियाँलाई । म हेर्छु कहिलेकाहीँ आकासमा अनि देख्छु चन्द्रमा एक्लो । खुसी लाग्छ, यो एक्लैले यत्रो संसारलाई मीठो शान्ति र शीतलता बाँडिरहेछ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्